काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रायले जनाएअनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेपछि संक्रमितको संख्या ९ पुगेको हो ।
तीनै जना संक्रमित कैलाली र कञ्चनपुरका हुन् । कैलालीमा यसअघि फेला परेका संक्रमित दुबईबाट आएका थिए । उनैका आफन्त जो नेपालमै रहेका थिए उनैमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित महिला चौँथो संक्रमित व्यक्तिका भाउजू हुन् । संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए । सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन् । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
सो कुरा स्वास्थ्य मन्त्रालयले शनिबार नै फेसबुक पेजमार्फत यो जानकारी गराएको हो । योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । अहिलेसम्म ६ जना विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएको थियो । त्यसमध्ये एकजना निको भएर फर्किइसकेका छन् भने दुईजना टेकु, दुईजना बाग्लुङ र एकजनाको धनगढीमा उपचार भइरहेको छ । धनगढीमा उपचार गराइरहेका संक्रमितका आफन्तमा कोरोना देखिएको बताइएको छ ।