काठमाडौं, २५ चैत । यतिखेर विश्व कोरोना भाइरस संक्रमणको महामारीको संकट छ । तर, यही संकटको मौकामा व्यापारीले कसरी नाफा कमाउन खोज्दा रहेछन् उदाहरण बनेका छन् जगदम्बा स्टिल कम्पनीका सञ्चालक सलभ अग्रवाल ।
नेपाल प्रहरीले मंगलबार ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शंकर गु्रपका सञ्चालक अग्रवाललाई पक्राउ गरेपछि यसको पुष्टि भएको छ ।
महानगरीय अपराध अनुुसन्धान महाशाखाका प्रमुख सहकुल थापाका अनुसार व्यापारी अग्रवाललाई थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको हो । उनलाई पाँच हजार पर्ने सो उपकरणलाई १५ हजारमा बिक्री गर्न लागेको पाइएको छ । प्रहरीले ६७ थान ‘थर्मल गन’सहित अग्रवाललाई निणन्त्रणमा लिएको हो । एक मुलुकका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले कूटनीतिक नियोगको सवारीसाधन दुरुपयोग गरेकोसमेत पाइएको छ ।
जगदम्बा स्टिलका सञ्चालक समेत रहेका अग्रवाललाई प्रहरी आफैँ ग्राहक बनेर थर्मल गन किन्न खोजेको थियो । स्रोतका अनुसार एक सातासम्म अग्रवालले सुराकी हो कि साँच्चै ग्राहक हो भनेर भेरिफाइ गरेका थिए । जब वास्तविक ग्राहक ठहरिएका पति ती व्यक्तिलाई मंगलबार प्रतिगोटा १५ हजार रुपैयाँका दरले १० लाख बराबरको थर्मल गन किन्ने सहमति भएपछि उनी पक्राउ परेका हुन् । अग्रवालले ती थर्मल गन चीनबाट २० हजार थान ल्याएको खलेको छ । अग्रवाललाई सरकारी वकिल कार्यालयमार्फत् जिल्ला प्रशासन कार्यालय बुझाइने भएको छ ।