काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । नेपालमा पनि संक्रमणबाट अछुतो छैन । तर, नेपालमा ६ दिन यता नयाँ संक्रमिता देखिएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयद्वारा बिहीबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना संक्रमित व्यक्ति नभएको बताएका हुन् । उनले तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको नमूना परीक्षण गरेको बताए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल २८९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौं उपत्यकामा रहेको प्रयोगशालामा २३८२ र उपत्यका बाहिर ५१३ नमूना परीक्षण भएका छन् भने १९३ परीक्षण भइरहेका छन् ।
हालसम्म नेपालभरि ७ हजार ९४० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको संख्या भने ११७ रहेको छ । सोमध्ये काठमाडौं उपत्यकामा १८ र उपत्यका बाहिर ९९ रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए ।
बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्कर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत शुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी कैलाली र कञ्चनपुरमा हालसम्म ६६ टेस्ट गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रलायको भनाइ छ ।
यसअघि नेपालमा ९ जनाका संक्रमण पोजिटिभ देखिएको थियो । जसमध्ये एक जना उपचारपछि घर फर्किएका छन् । आठ जनाको उपचार भइरहेको छ । उनीहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।