काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टका २ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १६ पुगेको हो ।
सोमबार ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा तीन जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । सोमबार नै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको स्रोतले दाबी गरेको छ । तर, सरकारले भने घोषणा गर्न बाँकी छ ।
अस्पतालमा भर्ना भएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ ।
ती तीनै जना चैतको पहिलो साता लन्डनबाट आएका थिए । तीन जना कोरोनाको आशंका देखिएपछि झन्डै पाँच सय परिवार बस्ने पेप्सीकोलाको सनसिटी अपार्टमेन्टलाई सोमबारदेखि सिल गरिएको छ । उक्त अपार्टमेन्टमा बस्ने सबै जनाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ ।