नवलपरासी पश्चिम– सीमामा खटिएका सुरक्षाकर्मीहरूलाई ध्यानमा राखी राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीले सुरक्षाकर्मीहरूलाई पिपिई उपलब्ध गराएको छ । नेपाल–भारत सीमामा कडा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरू कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरूका लागि संघले ४१ थान प्रसनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पिपिई) उपलब्ध गराएको हो ।
भारतमा कोरोना संक्रमण तीव्र रूपले फैलिरहेको बेला नवलपरासी खुल्ला सिमानाका कारण उच्च जोखिममा छ । देशमा लकडाउन र सीमा बन्द भए पनि भारतबाट लुकिछिपी नेपाली छिर्न खोज्ने व्यक्तिहरूलाई पक्राउ गर्न र यस्तो लकडाउनका बेला सीमा क्षेत्रमा कोरोना संक्रमणका लक्षण देखिने व्यक्तिहरूलाई शिघ्र उद्धार गर्नुपर्ने भएका कारण ती सुरक्षाकर्मीहरू उच्च जोखिममा रहेको भन्दै संघले उक्त पिपिई उपलब्ध गराएको संघका जिल्ला अध्यक्ष युवराज डुम्रेले जानकारी दिएका छन् ।
जिल्ला कमिटीले औषधि व्यवसायी महासंघबाट खरिद गरिएको गुणस्तरीय ४१ थान पिपिई जिल्ला प्रशासन कार्यालयलाई हस्तान्त्रण गर्दै सीमामा खटिएका सुरक्षाकर्मीहरूलाई उपलब्ध गराउन आग्रह गरेको हो । त्यसैगरी, सीमामा कडाइ गर्न नेपाल तथा सशस्त्र प्रहरीहरू संयुक्त रूपमा खटिरहेका छन् । अस्थायी पोस्ट बनाएर रातदिन सीमामा निगरानी गरिहेका छन् । सुरक्षाकर्मीहरू रातीको समयमा अन्ध्यारोले समस्या भइरहेका बेला मनोबल उच्च पार्न युथ अफ सुस्ताले सुस्ता गाउँपालिकामा पर्ने ती अस्थायी पोस्टहरूमा बिजुली बत्तीसमेत बालेर सहयोग गरिदिएको छ ।
त्यसैगरी, पिपिई अभावकै बेलामा अस्पतालहरूमा उपचार सेवा प्रदान गरिरहेका चिकित्सकहरूलाई पनि पिपिई उपलब्ध गराउने उद्देश्यले रामग्राम नगरपालिका–१० नदुवामा रहेको लुम्बिनी पेपर बोर्ड मिल प्रालिले पनि जिल्ला प्रशासन कार्यालयलाई १० थान पिपिई हस्तान्त्रण गरेको छ ।