हाम्रो देश नेपालको उत्तरतर्फ सिमाना रहेको छिमेकी मुलुक चीनको हुवान प्रान्तबाट सुरु भएको बिश्वव्यापी महामारी रोग कोरोना भाइरस अर्थात् कोभिड–१९ विश्वका २ सय १० मुलुकमा फैलिसकेको छ । वर्तमान समयमा विश्व कोरोना भाइरसबाट लडिरहेको बेला नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पनि अन्य मुलुकको तुलनामा संक्रमित संख्या कम रहे पनि यसबाट हामी पार पाइसकेको अवस्था भने होइन । बाह्य मुलुकबाट आएका संक्रमित व्यक्तिबाट सरेको यो रोग हाम्रा दुई छिमेकी मुलुक भारत र चीनबाट आएका संक्रमित व्यक्तिहरूका कारण पनि जोखिम बढेको छ । यद्यपि चीनको सिमानाबाट भन्दा दक्षिणतिर भीमकाय मुलुक भारत जहाँ १३० करोड जनसंख्या रहेको छ, उक्त मुलुकसँग हाम्रो देशको १, २, ३, ४, ५, ७ को सिमाना खुल्ला र अव्यवस्थित रहेको कारण जोखिम झन् बढ्दो छ ।
महाशक्ति राष्ट्रहरुलगायत युरोपेली राष्ट्रहरू पनि यस कोरोना भाइरससँगको लडाइँ सजिलै जित्न नसकिने भइयो भनेर हायल कायल अवस्थामा छन् । अमेरिकाले आफ्ना २ लाख नागरिकको ज्यान लिने अनुमान गरेको छ भने जापानले स्वास्थ्य आपत्कालको घोषणा गरेको छ । यस महामारीले ठूलो संख्यामा मानिस संक्रमित मात्र बनाएको छैन, त्यही क्रममा ज्यान पनि लिएको छ । संसार नै एक किसिमले अस्तव्यस्त छ । १ लाखभन्दा बढीले ज्यान गुमाइसकेको अवस्था छ । एउटा सुखद पाटो नेपालमा १६ जनामा मात्र कोरोना संक्रमण देखापरेको छ । साथै यसको निराशाजनक पक्ष भनेको संसारभरिका वैज्ञानिकहरु लागिपर्दा आजसम्म पनि यसको औषधि पत्ता नलाग्नु र हाम्रो छिमेकी भारतमा यो क्रमशः फैलिएकाले गर्दा पनि हो ।
खुल्ला सिमाना यथार्थमा अव्यवस्थित सिमानाका रूपमा रहेको छ । सीमा वारपार आवत्जावत गर्न दुवैतर्फका मानिसलाई रोकटोक परापूर्वकालदेखि नै छैन । रोटी र बेटीको सम्बन्ध भएका दुई मुलुक हाल विश्वव्यापीरुपमा फैलिएको रोग र खुल्ला सिमाना अव्यवस्थित हुनु दुवै मुलुकका लागि चिन्ताको विषय बनेको छ ।
वर्षौँदेखि रहेको सिमाना विवाद नटुंगिने अहिले कालापानी, लिम्पियाधुरा, सुस्तालगायत क्षेत्र नेपालको भूगोल थियो भन्ने न्यारेटिभ बनाउनुको हामीसँग विकल्प छैन । ती क्षेत्रमा भारतीय सेनाले आफ्नो ब्यारेक बढाइरहँदा नेपाल सेना भने मौन थियो । वास्तवमै नेपाली सेनाको स्पष्ट न्यारेटिभ बन्न सकेन कि सेनाको मुख्य दायित्व के हो ? देशको सुरक्षा गर्ने भन्ने भनाइ रहे पनि कोबाट कस्तो अवस्थामा र कुन क्षेत्रफल जोगाउन हो भन्ने विषयमा स्पष्ट न्यारेटिभ नबनाएको नेपाली सेना काठमाडौंको भद्रकालीको सेनापतिको कार्यालय वरिपरि परेड खेल्न मै सिमित रह्यो । नत्र भने नेपाल एकीकरणदेखि सुगौली सन्धि हुँदै जंगे स्तम्भ गाड्दै सधैँ खुकुरी बोकेर जागा रहने नेपाली सेनाको नाक मुन्तिरबाट कालापानी क्षेत्र भारतले कसरी कब्जा गर्न सक्यो । त्यसको निरन्तरताका बीच पनि नेपाली सेना किन कहिल्यै बोलेन ? सेनाले बोल्दैन भन्ने न्यारेटिभ बनाएपछि के सजिलो भयो भने देशको भूगोल छिमेकीले कब्जा गरिरहँदा पनि तिनै हजारौँ सेनापतिलाई मानार्थ सेनापति मान्दै भोजभतेर आदान–प्रदान गर्न पाइयो । जनताको आन्तरिक र राजनीतिक मामिलामा नबोल्ने हो त देशको सार्वभौमिकतामाथि हस्तक्षेप हुँदा आँखा चिम्लेर बस्ने कस्तो न्यारेटिभ बनाएको हो नेपाली सेनाले ? उसले अब त्यो बदल्नुपर्छ ।
नेपाल–भारत खुला सिमानाको समस्या बहुआयामिक छन् र व्यवस्थापन गर्ने उपाय पनि त्यति सजिला छैनन् । यो आंशिक रूपमा नियन्त्रित भए पनि यसको स्वभाव खुला नै हो । जहाँ लाखौँ लाख मानिस एकअर्काको सीमा वारपार गर्छन् र जसले एकअर्काका देशमा कुनै आधिकारिक प्रमाणबिना काम गर्छन्, त्यसलाई खुला नै भन्नुपर्छ । यो छिद्रित (पोरस) सिमाना होइन । तर, दुई राष्ट्रका पहिचानका लागि कतिपय पक्षमा भने खुलापनलाई सीमित गरिएको छ । नेपाल र भारतको सम्बन्ध अतुलनीय र विचित्रको छ । तर, आफ्नै परम्परा र सभ्यताले धनी भएकाले दुवैका पहिचान र सभ्यता पनि विशिष्ट छन् । भूगोल यस्तो सम्बन्धलाई निर्धारण गर्ने तन्तुका रूपमा सधैँ रहन्छ । यस्तो बहुआयामिक सम्बन्धलाई व्यवस्थापन गर्ने तरिका पनि दरिलो र भरिलो हुनुपर्छ ।
नेपाल–भारत सम्बन्धका सन्दर्भमा चीन स्वतः आउँछ किनभने नेपालको उत्तरी सीमा चीनसित मात्र जोडिएको छ । भारत पनि चीनसित जोडिएको र तिब्बतका कारण चीन–भारत सम्बन्ध बिग्रिएर सीमा युद्धसम्म पुगेको हो । तर, त्यसपछि दुवै देश लडाइँमा होमिएका छैनन् र अब त उनीहरू सहकार्य गर्दै प्रतिस्पर्धात्मक सम्बन्धमा पुगेका छन् । चीनको भारतसितको स्वार्थ आर्थिक र रणनीतिक दुवै छन् किनभने चीन भारतजस्तो व्यापारको सम्भावना भएको देशसित शत्रुतापूर्ण सम्बन्धमा रहिरहन सक्दैन, न त उसले भारतलाई उसविरुद्ध लाग्ने देशसित पूर्ण रूपले संलग्न भएको हेर्न चाहन्छ । आज चीन विश्वशक्ति राष्ट्र हुने आकांक्षा बोकेर हिँडेकाले उसले अमेरिकासित खास प्रतिस्पर्धा गर्छ र अन्य देशसित भने राम्रो सम्बन्ध कायम राख्ने कोसिस गर्छ ।
धेरैले सुरक्षा फौज बढाई नियन्त्रण गरे सीमा समस्या समाधान गर्न धेरै बल पुग्ने तर्क गर्छन् । त्यो एक पक्ष भए पनि अनेक मानवीय समस्या पनि छन्, जसको समाधान त्यति सजिलो छैन । खुला सीमालाई दसगजा अर्थात् नो म्यान्स ल्यान्डले अलग गरेको हुनुपर्ने हो । तर, आज धेरै ठाउँमा दसगजा पाउन गाह्रो छ किनभने खालि ठाउँ दुवैतिरका जनताको बसोवास गर्ने थलो भएको छ ।
यदि नेपाल र भारत सरकारले सम्पूर्ण सीमामा दसगजा कायम गर्ने हो भने त्यहाँका मानिसको बसोवास अन्यत्रै सार्नुपर्ने हुन्छ । यसका लागि आर्थिक, मनोवैज्ञानिक, राजनीतिक र राज्यशक्तिको आवश्यकता पर्छ । दुवै देशका सरकार यस कार्यप्रति प्रतिबद्ध भए सीमा कायम गर्न सकिन्छ । यो मानवीय समस्याका रूपमा आइसकेको छ र यसको समाधान भरसक मानवीय तरिकाबाटै हुन सक्दा राम्रो हुन्छ ।
भारतमा संक्रमणको संख्या बढनु स्वाभाविक पनि हो किनभने त्यहाँ जनसंख्याको आकार अत्यन्तै ठूलो छ । जसले गर्दा नेपाललाई जोखिम दिन प्रतिदिन बढ्दो छ । सीमा वारपार गर्न दुईतर्फ का मानिसलाई परिचय खुल्ने या तोकेका नाका सीमा चौकीबाट मात्र वारपार गर्ने व्यवस्था गरिनुपछ । तारबार ,पर्खालजस्ता कुनै छेक वार नभएको कारण जसले पनि जुनसुकै आली, कुलो, पैनीबाट ओहोरदोहोर गर्दै आएको सर्वविदित नै छ । यसरी दुई देशको सीमालाई अव्यवस्थित राखेर अनाधिकृत प्रवेश र आतंकवादी गतिविधि रोक्न कदापि सहयोग पुग्दैन । यस वास्तविकतालाई दुवै देशका सरकारले बुझ्नुपर्ने बेला आएको छ ।
हाल यो रोगको कारण दुवै मुलुकमा लकडाउन घोषण भएको छ । यहि कारण सीमा नाकाहरु बन्द गरिए तापनि लुकिछिपी नेपाली तथा भारतीय नागरिक आवत्जावत गर्दा यो रोगको संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा दुवै मुलुक गम्भीर भई खुल्ला सिमाना व्यवस्थित गर्न दीर्घकालीन सोचका साथ अगाडि बढनु पर्ने बेला आएको छ अन्यथा यस्तो खुल्ला सिमानाले आर्थिक लाभभन्दा मानवीय क्षति हुने पक्का छ ।
देश भनेको भूगोल मात्र होइन, जनता हुन् । यही कुरालाई सरकारले आत्मसात् गर्नुपर्छ । नेपाल सरकार कोरोना भाइरसको रोकथाममा सम्पूर्ण शक्तिका साथ लागेको छ । यसको फलस्वरुप हालसम्म कोरोनाका कारण १७ जनाभन्दा कम संक्रमण भएका ४९ वटा देशभित्र पनि सबैभन्दा धेरै टेस्ट गर्ने राष्ट्रका रुपमा हामी पर्न सफल भएका छौँ । खुल्ला सिमाना मुख्य चुनौति छ, सरकारले चाहेर मात्र सम्भव छैन, आमनागरिक सचेत हुनुपर्छ । सरकारले निर्देशित गरेका नियमहरु पालना गरी घरमै केही समय अझै बसौँ र यो महामारीबाट बच्न स्वयम सचेत बनौँ । अन्त्यमा सम्पूर्ण नेपालीहरु देश विदेशमा रहनुभएका सबैलाई नयाँ वर्ष ०७७ सालको मंगलमय शुभकामना ।