काठमाडौं– विश्वभर महामारीको रूप लिएको कोराना भाइरसका कारण हालसम्म करिब २६ लाख संक्रमित भइसक्दा एक लाख ८० हजार जतिले ज्यान गुमाइसकेका छन् । त्यसै महामारीलाई ध्यानमा राख्दै नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेको १ महिना पुगेको छ । यस विषम परिस्थितिमा लकडाउनबाट प्रभावित एवं अलपत्र भएकाहरूलाई पश्चिम ठमेल पर्यटन परिषद्ले सहयोग गर्दै आएको छ । विशेष गरि पश्चिम ठमेलमा दैनिक ज्यालादारी गर्दै आएका मजदुरहरूको हितमा ध्यानमा राख्दै परिषद्ले राहत एवं सहयोग कार्यक्रम घोषणा गरेको परिषद्का अध्यक्ष सन्तोष पाँडेले बताए ।
परिषद्ले लकडाउन सुरु भईसकेपछि प्रत्येक शनिबार सो क्षेत्रमा सरसफाई गर्दै आएको पनि अध्यक्ष पाँडेले बताए । परिषद्को संयोजकत्वमा सरसफाईका साथै सो क्षेत्रलाई स्यानिटराइज्ड गरिएको पनि उनले बताए । लकडाउन सुरु भइसकेपछि अस्पतालहरूमा रगतको अभाव नहोस् भन्दै सानो भए पनि सहयोग गर्नका लागि आफूहरूको दायित्व भएकोले हालै रक्तदान कार्यक्रमको आयोजना गरिएको परिषद्का सहकोषाध्यक्ष राजेन्द्र कुँवरले बताए ।
त्यस्तै परिषद्ले काठमाडौं महानगरपालिका वडा नंं. १६ को कालधारा, पकनाजोल, क्षेत्रपाटी र सोह्रखुट्टे क्षेत्रका सडक बालबालिका, ज्याला मदजुरी गर्ने मजदुर र भाडामा बस्नेहरूलाई बिहान बेलुका खानाको व्यवस्था गरिएको पनि कुँवरले बताए । उनले तीन साताभन्दा अगाडिदेखि खानाको व्यवस्था गरिएको बताए । हाल प्रत्येक छाक २०० जनासम्मलाई खाना खुवाइँदै आएको जनाइएको छ । साथै उनले सम्भव भएसम्म यस किसिमको कार्यक्रम लकडाउन अवधिभरि नै जारी राख्ने बताए । पश्चिम ठमेल पर्यटन परिषद्का सदस्य एवं जुनेली नेपाल, साइक्लिङ ग्रुप तातोखाना, लकलन्सेस, काठमाडौं महानगरपालिका वडा नं. १६ र अन्य दाताहरूको सहयोगमा प्रत्येक शनिबार राहत वितरण कार्य पनि गर्दैै आइरहेको परिषद्का अध्यक्ष पाँडेले बताए ।