काठमाडौं– परिवार दलले कोभिड–१९ को महामारीमा राहतस्वरूप १०० क्विन्टल चामल सहयोग गर्ने जनाएको छ । दलको अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
महामारीको कारण सिर्जित लामो लाकडाउनले पीडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस् भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिएका छन् । उक्त राहत स्थानीय निकाय तथा सुरक्षाकर्मीसँगको समन्वयनमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्ला समन्वयन समितिलाई निर्देशन गरेको छ । बैठकले महामारीको कारण सामाजिक अस्थिरता, बेरोजगार र हिंसा बढ्न सक्ने खतराप्रति सरकारलाई सचेत बनाउँदै तुरुन्त कोभिड–१९ पीडितहरूका लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।
परिवार दलले केही समयअघि संयुक्त राज्य अमेरिका र बिद्रोही तालिबानबीच भएको ससर्त शान्ति सम्झौता तथा सयुक्त राष्ट्र संघका महासचिब महामहिम एन्टोनियो गुटेरेसले कोभिड–१९ को बिरुद्धमा प्रभावकारी तरिकाले लड्नका लागि २३ मार्चमा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्धविरामका लागि गरेको प्रस्तावलाई स्वागत गरेको छ ।
त्यसैगरी बैठकले केहि समयअघि तत्कालिन नेपाल संघीय समाजवादी पार्टी परित्याग गरी नेपाल परिवार दलमा प्रवेश गरेका अनिल भण्डारी (तारकेश्वर नगरपालिका–२ काठमाडौं) र श्रीमती बुद्धिमाया पुन (रूपन्देही उप–महानगरपालिका–१५ बुटवल ) लाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको छ ।
बैठकले कोभिड १९ सँग लड्दै गर्दा र कोभिड–१९ पश्चातको समेत परिस्थितिलाई ध्यानमा राखी नेपाल परिवार दलले प्रशिक्षण, सदस्यता वितरण तथा नवीकरण र सहयोग, सूचना, बैठक, सार्बजनिक सुनुवाइ आदि अनलाइन प्रणालीद्वारा गर्ने प्रबिधि विकास गर्न ‘सूचना प्रबिधि विभाग’ गठन गर्ने निर्णय पनि गरेको छ ।
राजनीतिक दलले आफ्नो औचित्यको पुष्टी चुनौती र संकटको घडीमा नै गर्नु पर्ने हुन्छ भन्दै बैठकले महामारीमा नेपाल परिवार दलका सबै तह र तप्काका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरूलाई कोरोनाभाइरस विरुद्धको लडाइँमा अग्रपंक्तिमा उत्रन अनुरोध गरेको छ । परिवार दलले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकमा सामजिक एकता, सहयोग, प्रेम, सदभाव र भाइचाराको भावना फैलाउँदै सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका खातिर चलेका सबै कदमहरूलाई सहयोग गर्न अपिल पनि गरेको छ । अध्यादेश फिर्ता गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै कोभिड–१९ को रोकथाममा सरकारले गरेको प्रयासको बैठाले प्रशंसा गरेको छ ।