काठमाडौं– सरकारले लकडाउन अवधि १० दिन थप गरेको छ । मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अवधिलाई १० दिन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि नै प्रधानमन्त्री केपी ओलीले लकडाउनलाई जारी राख्ने कि हटाउने सम्बन्धमा मुख्य सचिवको नेतृत्वमा कार्यदल बनाएको थियो । त्यसो त उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले पनि एक हप्ता लकडाउनलाई जारी राख्ने निर्णय गरेको थियो ।
यसअनुसार २५ बैशाखसम्म लकडाउन कायम हुने भएको छ । कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै सरकारले लकडाउन अवधि थप गरेको एक मन्त्रीले बताएका छन् । सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदै थियो । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको सरकारको निचोड छ । सरकारले लकडाउनको समयसीमा थप गरेको यो चौँथोपटक हो । यसअघि सरकारले ११ चैतदेखि १८ गतेसम्मको लागि लकडाउन गरेकोमा त्यसपछि बढाएर २५ चैतसम्म र त्यसपछि पुनः ३ बैशाखसम्म बढाएकोमा त्यसपछि पनि सरकारले सोमबारसम्म लकडाउन गरेको थियो । योसहित नेपालमा ४५ दिन लकडाउन हुने भएको छ । हालसम्म नेपालमा कोभिड–१९ को संक्रमण ५२ जनामा पुष्टि भइसकेको छ भने त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।