काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५४ पुगेको छ । मंगलबार रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना भाइरसबाट संक्रमितको संख्या ५४ पुगेको हो ।
वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । दुवैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेर्को यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५४ जना पुगेका छन् भने निको भएर घर फर्कनेको संख्या १६ पुगेको छ ।