काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नेपालगन्जमा थप ७ जना कोरोना संक्रमित भेटिएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको हो ।
नयाँ सातै जना संक्रमित बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा हुन् । मन्त्रालयका अनुसार संक्रमितमा चार जना महिला र तीन जना पुरुष छन् ।
मंगलबार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ । यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।