- खुमेश सुवेदी -
नेपालमा लामो समय पछि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । जसले गर्दा आम नागरिकमा एउटा नयाँ आशाको उदय भयो । सबै नागरिकले भ्रष्टाचार रहित समुन्नत समाजको परिकल्पना समेत
गरे । जनप्रतिनिधिहरुले निर्वाचन अगाडि सबैले भ्रष्टाचारलाई निर्मुल पार्ने नारा लगाउँदै जनतालाई आफ्नो पक्षमा पार्न पछि परेनन् । के अब नागरिकले सोचे जस्तै भ्रष्टाचार रहित समुन्नत समाजको विकास होला त ? के अब विकासले गति लिन्छ त ? भ्रष्टाचार कम हुनेकि झन् मौलाउने ? यस्ता तमाम प्रश्नहरुले नागरिकहरुलाई अझैं पिरोलिरहेको छ, नागरिकहरु ढुक्क हुन सकिरहेका छैनन् ।
हिजोको दिनमा “कर्मचारीहरुले स्थानीय निकाय चलाएका कारण वा कर्मचारीतन्त्र हावि भएका कारण भ्रष्टाचार निकै मौलाएको हो” भन्न जो कोहि पछि हटेनन् तर अहिले जनप्रतिनिधि आईसकेको झन्डै ७ महिना पुग्नै थाल्योे । प्रायःजसो ठाउँमा जनप्रतिनिधिहरुको काम गरेको अवस्था हेर्दा भ्रष्टाचार घट्ने होईन बढ्ने सम्भावना देखिन्छ । हरेक किसिमका गतिविधि संचालन गर्नको लागि आफ्नै पाटी निकटका मान्छेलाई मात्र ग्राहयता दिने गरेको पाईन्छ ताकि आर्थिक लगाएतका हरेक किसिमका गतिविधिमा आफ्नै बर्चश्व कायम रहोस । यसरी जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुले कसैलाई काखा कसैलाई पाखा गर्नु कहाँ सम्मको न्यायपुर्ण व्यवहार हो, जनप्रतिनिधि सबैको साझा हुनुपर्ने होईन र ?
सामान्य खालका योजना संचालन गर्नका लागि बनाईने उपभोक्ता समितिमा समेत आफ्ना निकटका मान्छेलाई राखि आर्थिक चलखेल गर्न खोजेको प्रष्ट देख्न सकिन्छ । त्यसैगरि लक्षित वर्गको लागि विनियोजन गरिएको बजेट सम्म पनि कसरि, कति कुम्ल्याउन सकिन्छ भनेर र्याल चुहाइरहेको देखिन्छ । यसो हेर्दा निर्वाचनमा गरेको खर्च एकै पटकमा निकाल्ने दाउमा देखिन्छन् जनप्रतिनिधिहरु । यि त केही उदाहरण मात्र हुन् । यस्ता धेरै किसिमका गतिविधिहरु स्थानीय तहहरुमा भएको पाईन्छ । यसरी जनप्रतिनिधिहरुले काम गर्ने हो भने आम नागरिकले कसको विश्वास गर्ने ?
यी सबै गतिविधिहरुलाई नजिकैबाट नियाल्दा जनप्रतिनिधिहरुलाई निगरानि गर्नका लागि एउटा छुट्टै किसिमको बलियो संरचना तयार पार्नुपर्ने देखिन्छ, जसले हरेक किसिमका गतिविधिलाई निगरानी गर्न सकियोस् र गल्ति गरेको खण्डमा कारवाहिको दायरामा पुराउन सजिलो होस् । यसका लागि सम्बन्धित निकायको छिट्टैनै ध्यान जान आवश्यक देखिन्छ, अन्यथा मुलुक विगतमा भन्दा पनि ठुलो भ्रष्टाचार गर्ने थलोको रुपमा विकसित हुन्छ भन्दा अत्युक्ति नहोला ।