नेपालगन्ज । माघ २५ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा आज बालश्रमिकहरुको अवस्थाको स्थलगत अनुगमन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सञ्चालीत बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो अनुगमन गरिएको हो । वडाका विभिन्न स्थानमा गरिएको अनुगमनको क्रममा बिद्यालय छाडेर श्रमिकको रुपमा मोटरसाईकल ग्यारेज, फर्निचर उद्योग लगायत स्थानहरुमा बालबालिकाहरु काम गरिरहेको पाईएको छ । सो क्रममा मोटरसाईकल शोरुममा श्रमिकको रुपमा काम गर्दै आएका बालकलाई घर फर्काउन शोरुम सञ्चालकलाई समेत भेटेर सम्झाई बुझाई गरिएको छ । श्रमिक परिवारसँगको भेटघाटको क्रममा बालबालिकालाई श्रमीकको रुपमा पठाउनुको कारण, बालबालिका तथा परिवारको अवस्था, बालश्रम लगायतका बिषयमा परामर्श गरिएको छ । स्थलगत अनुगमन बाट प्राप्त बिवरणहरुको आधारमा बालबालिकाहरुलाई उनीहरुको परिवारमा फर्काउन पहल गरिनेछ । अनुगमन वडा नं. ११ का वडा अध्यक्ष उज्वल सिंह राठौर, नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोसी, वडा सदस्य मुवारक अली सिद्धीकी, वडा सचिब चन्द्र कुमार गोडीया, बासका उपनिर्देशक हेमराज भट्ट, लेखा अधिकृत प्रतिक्षा गिरी र सामाजिक परिचालक शर्मिला थापाको उपस्थितीमा गरिएको थियो ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा माघ २४ गते भेटघाट तथा अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा श्रमिक परिवारको आर्थिक अवस्था निकै न्यून भएकाले बालबालिका श्रम गर्न बाध्य भएको पाईएको छ भने बालबालिकालाई बिद्यालय भन्दा काममा लगाउनु पर्छ भन्ने पारिवारिक सोचका कारण समेत बालश्रमिकहरुको सख्यामा बृद्धी भएको पाईएको छ । अनुगमनका क्रममा बालबालिकालाई श्रममा लगाउदाका बेफाईदा, परिवारको आयस्तर सुधार, बालबालिकालाई बिद्यालय पठाउनका फाईदा तथा कानुनी प्रावधानका बिषयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष अजय पाठक, नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, वडा सदस्यहरु फिरोज बेहना, मसीद धोबी, वडा सचिब सोनी गोईत, बासका उपनिर्देशक हेमराज भट्ट, लेखा अधिकृत प्रतिक्षा गिरी र सामाजिक परिचालक शर्मिला थापाले जानकारी गराएका थिए । बासले कार्यक्रम लक्ष्मीत वडामा श्रमिक बालबालिका र परिवारहरुलाई परामर्श दिने तथा उनीहरुका समस्या बारे जानकारी लिन नेपालगन्ज उपमहानगरपालिका, युनिसेफ, वडा कार्यालय तथा संस्थाले संयुक्त रुपमा स्थलगत अनुगमन गरिरहेको छ ।