सूचनाको हक प्रचलन र प्रबद्र्धनका लागि जिल्लाको अवस्था अनुगमन गर्ने जिम्मेवारी प्राप्त जिल्ला हुलाक कार्यालय बाँकेसँग अनुगमन बारे सूचना माग गरिएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज—१२ निबासी नमस्कार शाहले माघ १५ गते निबेदन दर्ता गर्दै सूचना माग गरेका हुन् ।
२०७१ साल देखि नेपाल सरकारले देशभरका जिल्ला हुलाक कार्यालयलाई जिल्लामा सूचनाको हक प्रचलन र प्रबद्र्धनको अवस्था अनुगमन गर्ने जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी अनुरुप के कसरी काम भईरहेको छ भन्ने बारे जानकारी प्राप्त गर्न सूचना माग गरिएको सूचना मागकर्ता नमस्कार शाहले बताए । माग गरिएका सूचनाहरुमा सूचनाको हक प्रचलन र प्रबद्र्धनका लागि जिल्लाको अवस्था अनुगमन गर्ने जिम्मेवारी बमोजिम यस आ.ब.को पहिलो चौमासिक भित्र सम्पन्न भएका गतिविधिहरु, सो को खर्च बिबरण, दोश्रो चौमासिक र तेस्रो चौमासिकमा गरिने गतिविधि र बजेट बिबरण, बाँकेका सम्पूर्ण सार्वजनिक निकायमा तोकिएका सूचना अधिकारीहरुको सम्पर्क नम्वर सहितको नामावली बिबरण रहेका छन् । सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिम १३ वटा र नियमावलीको नियम ३ बमोजिम ७ वटा गरी २० शिर्षकमा ३/३ महिनामा आफ्नो निकायसँग सम्बन्धित विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान बमोजिम यस आ.ब.को पहिलो चौमासिकमा आफ्नो कार्यालयसँग सम्वन्धित सूचना स्वतःप्रकाशन गर्ने कार्यालयहरुको सँख्या, स्वतःप्रकाशन सम्बन्धि बिबरण र उपलब्ध प्रमुख ३ वटा कार्यालयले उपलब्ध गराएको स्वतःप्रकाशनको छायाँकपीका साथै शाहले सूचनाको हक प्रबद्र्धनका लागि गरिएको अनुगमन पश्चात तयार पारिएको प्रतिबेदनको छायाँकपी, अनुगमन गर्ने तौर, तरिकाको बिबरण माग गरेका छन् ।