
काठमाडौं(प्रस)– भारतीय विदेशमन्त्री एस जयशंकरको बुद्धसम्बन्धी विवादास्पद अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्चाएको छ । भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्रीले दिएको अभिव्यक्ति सच्याएको हो । आइतबार साँझ भारतले बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने उल्लेख गरेको छ । भारतले जयशंकरको अभिव्यक्ति बौद्ध विरासतसँग सम्बन्धित भएको भन्दै विदेश मन्त्रालयले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् । जुन नेपालमा पर्छ ।’
जयशंकरले शनिबार एक सम्मेलनमा बुद्ध भारतको महान व्यक्ति भनेर अभिव्यक्ति दिएका थिए । त्यसको नेपालमा चर्को विरोध भएको छ । नेपाल सरकारले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री जयशंकरको उक्त भनाइको खण्डन गरेको थियो ।
गौतम बुद्ध नेपालमा जन्मिएको भन्ने तथ्य निर्विवाद र स्थापित रहेको उल्लेख गर्दै मन्त्रालयको विज्ञप्तीमा भनिएको छ, ‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ । बुद्धको जन्मस्थल र बौद्ध धर्मको धरोहर लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकत सम्पदामध्ये एक हो ।’ नेपालले जयशंकरको अभिव्यक्तिको खण्डन गरेलगत्तै भारतीय विदेश मन्त्रालयले सच्याएको हो ।