
काठमाडौं– नेपालमा दिनदिनै कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । देशभर संक्रमित बढ्दै जाँदा मृत्यु हुनेको संख्या पनि बढिरहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १० जनाले ज्यान गुमाएका छन् । यो अहिलेसम्मकै धेरै हो ।
बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका गरी १० जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो । मन्त्रालयले औपचारिक रूपमा ९१ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयको बुधबार पत्रकार सम्मेलनपछि थप दुई जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ, जसमध्ये उपत्यकामा बुधबार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा २९, पाटन अस्पतालमा गरिएको परीक्षणमा ११, वीर अस्पतालमा गरिएको परीक्षणमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ११ र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिए ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं महानगरपालिका–१२ टेकु निवासी ७८ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा उपचार गराइरहेकी महिलाको बुधबार राति निधन भएको हो । झाडापखाला तथा ज्वरोको कारण २६ साउनमा किष्ट अस्पतालको आकस्मिक कक्षमा नी भर्ना भएकी थिइन् ।
धादिङ जिल्ला निलकण्ठ नगरपालिका–१४ का ३२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । उनको ह्याम्स अस्पतालमा मृत्यु भएको थियो । क्षयरोगी उनी निमोनिया, खोकी तथा सास फेर्न कठिन भएको भन्दै २७ साउनमा अस्पतालको आइसीयूमा भर्ना भएका थिए । उनको अस्पताल भर्ना भएकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका–१ निवासी ७१ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ । बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको मृत्यु भएको हो । धनुषाकै ३८ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–८ बस्ने महिलाको ललितपुरको पाटन अस्पतालमा बुधबार राति मृत्यु भएको छ । इन्सेफ्लाइटिस भएर उनी १८ साउनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उनमा १८ साउनमा कोरोना पुष्टि भएको थियो ।