काठमाडौं– नेपाल पत्रकार महासंघका सभासद एवं कैलालीको टीकापुरस्थित कान्तिपुर संवाददाता गणेश चौधरीलाई समाचार संकलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न माग गरेको छ । २६ साउनमा कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा समाचार संकलनका क्रममा रहेका पत्रकार चौधरीमाथि सोही ठाउँका दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र शाही र रवीन्द्र शाहको समूहले एक्कासि टाउकामा प्रहार गरी घाइते बनाएका थिए ।
‘कोभिड–१९ संक्रमणको जोखिम मोलेर पेशागत कर्ममा जुटेका पत्रकारमाथि भएको यो आक्रमण निन्दनीय र प्रेसविरोधी काम हो, महासंघ घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई प्रेसविरुद्ध हुने यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ’, महासंघद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।