काठमाडौं — राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको छ । प्रशिक्षण स्थगित भएसँगै प्रशिक्षणमा रहेका सबै खेलाडीलाई रिलिज गरिएको एन्फाले जनाएको छ ।
विश्वकप छनोटको तयारी स्वरूप भदौ १ गतेबाट सुरु गर्ने तयारी गरिएको फुटबल टिमको प्रशिक्षण अनिश्चित समयका लागि स्थगित भएको हो । फिफा तथा एएफसीले विश्वकप छनोटका खेल स्थगित गरेसँगै एन्फाले समेत तयारीलाई तत्कालका लागि रोकेको हो । फिफा तथा एएफसीले बुधबार सुचना जारी गर्दै छनोट खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको थियो ।
राष्ट्रिय फुटबल टिमका ब्यवस्थापक मधुशुदन उपाध्यायले फुटबल टिमको प्रशिक्षण तत्कालका लागि स्थगित भएको बताए । ‘अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । फिफा, एएफसीबाट छनोट खेलको तालिका तय भएपछि प्रशिक्षण पुन सुरु गर्नेछौ, ’ उनले भने ।
राष्ट्रिय टिमको प्रशिक्षणका लागि एन्फाले खेलाडीको कोरोना परिक्षण समेत सकेको थियो । सोमबार गरिएको परिक्षणको रिपोर्ट समेत सार्वजनीक भएको थियो । प्रशिक्षणका लागि भन्दै एन्फाले सबै खेलाडीलाई उपत्यकामा बोलाएर राखेको थियो । कोरोना परिक्षणको रिपोर्टसंगै खेलाडीलाई निर्मलीकरण गरिएको एन्फा होस्टेलमा राख्ने तालिका थियो ।
प्रशिक्षणका लागि एन्फाले ‘प्रोटोकल’ समेत तयार पारेको थियो । तर छनोटको खेलनै स्थगित भएपछि एन्फाले तत्कालका लागि प्रशिक्षणको कार्यक्रमलाई रोकेको हो । संक्रमण बढ्दै गएपछि एन्फाले एक साताका लागि केन्द्रिय कार्यालय समेत बन्द राख्ने निर्णय गरिसकेको छ ।