रूपन्देही–आउँदै गरेको पर्वलाई ध्यानमा राख्दै प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।
पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा शुभकामना दिँंदै उनले यस्तो आग्रह गरेका हुन् । उनले कोरोनाको सन्त्रासको बेला पर्व मनाउँदा पनि विशेष ध्यान दिनुपर्ने भन्दै यस वर्ष विगतमा भन्दा फरक ढङ्गले भगवती जात्रा मनाउँन आग्रह गरे ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं ।
कोरोनाविरुद्धको अभियानलाई सार्थक बनाऔं’ त्यस्तै कोभिड—१९ को महामारीलाई जितेपछि भगवती जात्रालाई हामीले विगतमा झै ठूलो जनसहभागितामा भव्य ढङ्गले मनाउने नै छौँ ।’
पाल्पामा मनाइँदैँ आएको भगवती जात्राले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको बाटोमा हिंड्न प्रेरित गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले पुर्खाको देशभक्तिको गौरवपूर्ण लडाइँलाई सम्झदै सत्मार्गमा हिँडेर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै अविचलित रूपमा अघि बढ्न आग्रह गरे ।
सन्देशमा भगवती जात्रा पुर्खाले राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहास सम्झाउने उत्सव भएको र दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता–धीरता गाथाको स्मरण गराउने उनको भनाई थियो । विसं १८७१—७२ को नेपाल—अंग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा जीतगढीमा विजय हासिल गरिएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले जीतगढीको लडाइँ मोर्चामा आङ्खनो पराक्रम साहस र रणकौशलका साथ पाल्पा हुँदै अन्ततः नेपाल कब्जा गर्ने अंग्रजको योजनालाई उनले विफल बनाइदिएको बताए ।
मुख्यमन्त्री पोखरेलले अंग्रेज फौजलाई परास्त गरी विजय हासिल गर्ने कर्णेल उजिरसिंहसहित सबै योद्धाप्रति उच्च सम्मान व्यक्त गरे । कर्णेल उजिरसिंहकै अदम्य साहस र सफलताको खुशीयालीमा विसं १८७७ देखि पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्राको आयोजना गरिादै आएको छ ।