
दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म कोरोना प्रभावित नेपाली कामदारका लागि राहत वितरण गरिरहेको जनाएको छ ।
विभिन्न संस्थाहरूसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरूलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।
कतारस्थित नेपाली दूताबासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरूले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई अझै खाद्यान्न वितरण कार्य जारी रहेको अध्यक्ष मुसलमानले बताए ।
अहिलेसम्म विभिन्न चरणमा गरी ६ हजार ५ सय ९० कोरोनापीडित नेपाली कामदारलाई खाद्यान्न वितरण गरिसकिएको उनले बताए । कोरोनाका कारणले कतारमा रहेका नेपालीलाई खानासम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरे ।
कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरूलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रूपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध गराइसकेको छ ।
यता, कतारबाट स्वदेश फर्किने नेपालीको संख्या दिनप्रति दिन बढिरहेको छ भने अहिलेसम्म ३०औँ उडानमार्फत ५ हजार ४६५ जना मात्र स्वदेश फर्किएका छन् । दूताबासले पछिल्लोपटक सार्वजनिक गरेको सूचीमा अझै घर फर्किने नेपालीको संख्या ९ हजार ३ सय ८५ जना रहेको जनाएको छ । थप उडान कहिले हुनेबारे दूताबासले केहि खुलाएको छैन ।