काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका एक–एक गरी थप ३ जनाको मृत्यु भएको हो ।
डा. गौतमका अनुसार कपिलवस्तुको मायादेवी–७ का ४० वर्षीय पुरुषको शनिबार उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ भने पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको शुक्रबार नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको २९ साउनमा कोरोनाबाट मृत्यु भएको हो ।
पछिल्लो केही सातायता नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । यस्तै, शनिबार देशभर ४६८ जना संक्रमित थपिएका छन् । शनिबार प्रवक्ता डा. गौतमले हालसम्म संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । शनिबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १२४ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् भने प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा४ हजार १ सय ६३ जना गरी शनिबारसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको हो ।
मन्त्रालयका अनुसार आइसोलेसनमा ८ सय १ सय ९३ जना संक्रमित उपचाररत छन् । प्रदेश नम्बर १ मा ८ सय ५४, प्रदेश नम्बर २ मा ३ हजार ८ सय २७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २ सय ६२ जना संक्रमित आइसोलेसनमा रहेका छन । प्रदेश नम्बर ५ मा ७ सय ३६, कर्णाली प्रदेशमा २ सय २५ र सुदूरपश्चिम प्रदेशमा ८ सय १० जना आइसोलेसनमा रहेका छन् ।
फुटफाटदेखि भेलासम्म रोक
उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले विभिन्न गतिविधिमा निषेध गरेको छ । जसमा फुटफाट पसलदेखि भेलासम्म रहेका छन् ।
संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निश्चित गतिविधिमा निषेध आदेश जारी गरेका हुन् ।
आदेश विपरीत काम भएमा ऐन बमोजिम कारबाही गरिने जनाइएको छ ।
खुला स्थानमा भेला, भीडभाड र जुलुस, भीडभाड हुने गतिविधि, जात्रा महोत्सव, पूजा तथा धार्मिक कार्यक्रम, उद्योग व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्व तथा धार्मिक कार्यका लागि हुने जमघट गर्न निषेध गरिएको आदेशमा जनाइएको छ ।
यस्तै शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्युटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहायल, चिडियाखाना सञ्चालन गर्न निषेध गरिएको छ ।