काठमाडौं– नेपाल विद्यार्थी संघले प्रहरी हिरासतमा राखिएका भनिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ । नेविसंघले काठमाडौं र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेता तुरुन्त रिहा गर्न र ‘झुटा मुद्दा’ खारेज गर्न माग गरेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका विकृति अन्त्य र शैक्षिक सुधारको माग गर्दै शान्तिपूर्ण दबाबमूलक कार्यक्रमको सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको जनाउँदै सो क्रममा नौ नेता एवं कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ ।
नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति जारी गरी विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलनमा रहेका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै ती विद्यार्थीलाई विनाशर्त रिहाइ गर्न माग गरेका छन् ।
‘वीरगञ्जमा स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य सेवा प्रदान गर्न, कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थी साथै २७ साउनमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षसँग विभिन्न माग राख्न जाँदा प्रहरीको गिरफ्तारमा परेका विद्यार्थीलाई तत्काल रिहाई गर्नुपर्छ’, अध्यक्ष ढुंगानाले भने ।
आम विद्यार्थीको भविष्यलाई मध्यनजर गरी नेविसंघले वैकल्पिक विधिबाट पठनपाठन र परिक्षा सञ्चालन गर्न माग गर्दा प्रहरीले धडपकड गरेको नेविसंघले जनाएको छ । नेविसंघका महामन्त्री दीपक भट्टराईले विद्यार्थीले आफ्ना जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले गिरफ्तार गरेर झुटा मुद्दा लगाउनु दुःखद भएको बताए ।