वीरगञ्ज – निर्धारित मूल्य भन्दा बढी असुल्दै रासायनिक मल बिक्री वितरणमा कालोबजारी गरेको आरोपमा बारामा शनिबार दुई जना व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया–१ राजदेवीको कुशवाहा बिज भण्डारका सञ्चालक मुरारी साह तेली र सोही ठाउँको आशिका मिनीमाई कृषि सहकारीका सञ्चालक महागढिमाई–१ का धनन्जयप्रसाद साह छन् ।
दुवै पसलले किसानलाई बढी दाममा मल बिक्री गरेको भन्ने किसानहरूको उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले बताए । उजुरीअनुसार कृषि सामाग्री कम्पनी वीरगंज क्षेत्रीय कार्यालयबाट खरिद गरिएको मलमा ५० रूपैयाँभन्दा बढी नाफा लिन पाइँदैन ।
पसलेहरूले प्रतिबोरा २०० देखि ५०० रूपैयाँसम्म बढी असुलेर बिक्री गरेको उजुरी आएपछि नियन्त्रणमा लिएर कालोबजारी मुद्दा दर्ता गर्ने तयारी रहेको मिश्रले बताए ।
प्रहरीले दुवै पसलबाट १९ बोरा युरिया,१४ बोरा सल्फेट र २२ बोरा भारतीय मल बरामद भएको जनाएको छ । कालोबजारी गरिएको भनिएको ५५ बोरा प्रहरीले नियनत्रणमा लिएको छ ।
यतिबेला मल नपाएका किसान जति पनि मूल्यमा करिद गर्न तयार छन् । त्यसैको फाइदा उठाउँदै दुवैले कालोबजारी गरेको आरोप छ ।