भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना संक्रमणमुक्त भएका छन् । भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा संक्रमणमुक्त भएकाहरूको संख्या ५७ हजार ३८१ पुगेको छ ।
मन्त्रालयका अधिकारीहरूले कोरानाभाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या पछिल्लो समय भारतमा बृद्धि हुदै गएको जनाएका छन् । संक्रमणमुक्त भएकाहरू मध्ये केही अस्पतालमा उपचार गराईरहेका संक्रमितहरू रहेका छन् भने केही घरमै आइसोलेसनमा बसेकाहरू रहेका छन् ।
भारतमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी प्रेस वक्तव्यमा १८ लाख ८ हजार ९३६ जना संक्रमणमुक्त भएको उल्लेख गरिएको छ ।
अधिकारीहरूका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको संख्या छ लाख ६८ हजार २२० रहेको छ । यो संख्या कुल संक्रमितको २६.४५ प्रतिशत मात्रै हो ।
भारतमा संक्रमणमुक्त हुनेहरूको संख्या जसरी बढीरहेको छ परीक्षण गर्ने क्रम पनि उत्तिकै बढाईएको छ ।
पछिल्लो २४ घन्टामा आठ लाख ६८ हजार ६७९ जनाको परीक्षण गरिएको अधिकारीहरूले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म दुई करोड ८५ लाख मानिसको कोरोना परीक्षण गरिएको छ ।