सियोल– दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमण दर पुन ः बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन् । गत २४ घन्टामा कोभिड–१९ संक्रमितको संख्या १६६ पुगेको र यो पाँच महिना यता दक्षिण कोरियामा एकै दिन संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै हो ।
पाँच करोड १० लाख जनसंख्या रहेको राजधानी शहर सियोलमा पछिल्ला दिनहरूमा संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि सरकारले संक्रमण नियन्त्रणका उपायहरूलाई थप कडा पारिरहेको छ ।
दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा देशभर अहिलेसम्म संक्रमितको संख्या १५ हजार ३९ रहेको र ३०५ संक्रमितको मृत्यु भएको जनाइएको छ ।
केसिडिसीले नयाँ संक्रमितमध्ये १५५ जना स्थानीय रहेको र अन्य कोरियामा विभिन्न कामको शिलशिलामा पुगेका विदेशी रहेको बताएको छ । संक्रमितमध्ये अधिकांश राजधानी शहर र वरपरका क्षेत्रका नागरिक हुन् ।
अधिकारीहरूले पुनः संक्रमण देखिन थालेपछि तत्काल हजारौं चर्चहरूलाई बन्द गर्न निर्देशन गरेका छन् । कोरियामा संक्रमण फैलिनसक्ने एउटा प्रमुख क्षेत्रका रूपमा चर्चलाई लिएका छन् । यस पहिले पनि कोरियाको एक चर्चमा गएका केही व्यक्तिबाट संक्रमण फैलिएको थियो ।
त्यसैगरी नर्सिङ होम, विद्यालय, रेस्टुरेण्ट र धेरै उपभोक्ताको भेला हुने बजारहरू रहेका छन् । सरकारी अधिकारीहरूले शनिबार सियोलमा सरकारको विरोधमा प्रदर्शनकारी र मजदुर युनियनहरूले गरेको प्रदर्शनका कारण संक्रमण अझ फैलिनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
संक्रमण वृद्धि भएका कारण ठूला शहरहरूमा सामाजिक दूरीको उपायहरूलाई अझ कडा बनाउन सक्ने अधिकारीहरूले बताएका छन् ।
अहिलेसम्म आर्थिक चिन्ताको कारण सहरी क्षेत्रमा खासै कडाई गरिएको छैन । सरकारले सार्वजनिक जमघटमा प्रतिबन्ध, मनोरन्जन स्थलहरूलाई बन्द गर्ने र बेसबल र अन्य व्यावसायिक खेलहरूबाट प्रशंसकहरू हटाउनेजस्ता प्रतिबन्ध समावेश गर्न सक्ने बताएको छ । दक्षिण कोरियाले जुलाईको अन्त्यदेखि आंशिक रूपमा दर्शकहरूलाई खेल हेर्न खुला गरेका थिए । एजेन्सीको सहयोगमा