काठमाडौं– नेपालमा कोरोनाभाइरस संक्रमणको ग्राफ दिनदिनै बढ्दै गएको छ । आइतबार लकडाउन खुलेयताकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । आइतबार एकैदिन ६ सय ४१ जना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा १७२ जनासहित आइतबार थप ६४१ कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । यसअघि भारतबाट आएकाहरूमाथि परीक्षण हुँदामात्रै यतिका धेरै संख्या कोरोना संक्रमित भेटिएको थियो । तर, पछिल्लो सातायता समुदायमा समेत संक्रमण फैलिन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४७ हजार जनामा गरेको पिसीआर परीक्षणबाट ६४१ नयाँ संक्रमित देखिएका हुन् । हालसम्म पाँच लाख १७ हजार ९०७ को पिसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या नौ हजार २२१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकामा देखिएका थप १७२ कोरोनाका संक्रमितमध्ये काठमाडौंका १२६, लतिपुरका ३८ र भक्तपुरका आठ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३४ जना कोरोना जितेर घर फर्किएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।
यसैबीच कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । पर्सामा एक पुरुष र मोरङमा एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए ।
कुल संक्रमितको संख्या २६ हजार ६ स ६० पुगेको छ भने मृत्यु हुनेको आइतबार थपिएका दु्ईसहित एक सय ४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले होम आइसोलेशनमा रहेका बिरामीको संख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका संक्रमितको संख्या आठ हजार ७२४ रहेको छ । वाग्मती प्रदेशका ६ जना संक्रमितलाई भेण्टिलेटरमा राखिएको छ ।
अहिले विश्व नै कोभिड–१९ महामारीको चपेटामा परेको छ । नेपालमा पनि महामारीको नराम्ररी असर परेको छ । पछिल्लो विवरणअनुसार विश्वमा दुई करोड १६ लाख १८ हजार २८९ कोरोनाका संक्रमित देखिएका छन् ।
कोरोनाका कारण हालसम्म विश्वमा ७ लाख ६९ हजार ९ जनाको मृत्यु भइसकेको छ । यो आइतबार मध्यान्हसम्मको विवरण हो । कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या एक करोड ४३ लाख ३४ हजार ३३२ रहेको मन्त्रालयले जनाएको छ ।