
काठमाडौं — साउनको अन्तिम दिन आइतबार सेयर बजार १९.५५ अंंक घटेर १३८९.२४ विन्दुमा बन्द भएको छ । कोरोना संक्रमण बढ्दै जाँदा आर्थिक गतिविधिहरू पुनः कम हुँदै जाँदा लकडाउनको अनुमान लगानीकर्ता आत्तिँदा बजार घटेको बजार विश्लेषकहरूले बताएका छन् ।
साथै, कोभिड–१९ प्रभावका कारण कर्जा विस्तारमा संकुचन आउँदा बैंक तथा वित्तीय संस्थाहरूको नाफा घटेको वित्तीय विवरणहरू सार्वजानिक भएकाले पनि यसले लगानीकर्ताहरूको मनोबल कमजोर हुँदा परिसूचक साढे १९ अंकले घट्नुको कारण अनुमान गरिएको छ ।
नेप्से सूचक घटेपनि दोस्रो बजारमा एक अर्ब १३ करोड ७४ लाखको सेयर कारोबार भएको छ । कारोबार शुरु हुँदा १४०७ विन्दुमा रहेको सूचक १० मिनेटमै १३८१.९० मा ओर्लिएको थियो । शुरुको त्यो कारोबार समयमा नेगेटिभ सर्किट लाग्ने संकेत देखिएको भए पनि सेयरको मूल्य घटेको मौका छोपेर खरीद गर्नेहरू आउँदा सूचक उक्त विन्दुभन्दा तल जानबाट रोकिएर आधा घण्टामै १३९५ विन्दुमा पुगेको थियो ।
समग्रमा आइतबार सेयर बजार पूरै दिन घटेर बन्द भएको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहिवार नेप्से परिसूचक १४ सय अंकमाथि रहेको थियो ।
आइतबार कारोबार भएका १२ वटै उपसूचक घटेको छ । जसमा बैंक १.७४, विकास बैंक १.९२, लघुवित्त १.४४ प्रतिशत घटेको हो । उत्पादनमूलक तीन कम्पनी वासलात पनि नोक्सानमा रहेको देखिएपछि यस समूहको सूचक समेत २.२८ प्रतिशतले ओर्लिएको छ ।
समग्र सेयर बजार घट्दा पनि साधना लघुवित्तको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य आइतबार ९.९२ प्रतिशत बढेर ६९८ रूपैयाँ पुगेको छ ।
यस्तै, छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ९.६४ प्रतिशत बढेर प्रतिकित्ता ९१ रूपैयाँ पुग्यो । आइतबार कारोबार भएका १८५ कम्पनीमध्ये ३३ वटाको मात्र सेयर मूल्य बढेको र १३ कम्पनीको स्थिर रहेको छ भने बाँकी सबैको घटेको छ ।