
दाङ – कोरोना भाइरस संक्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् ।
दशैँ तिहारभन्दा पनि तिजमा सुनको व्यापार धेरै हुने भए पनि यस वर्ष कोरोनाको त्रास र मूल्य वृद्धिले गर्दा व्यापार नहुने सुनचाँदी व्यवसायी संघ प्रदेश–५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकारले बताए । व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको उनले बताए ।
सुनचाँदी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष मदन केसीका अनुसार विगत वर्षमा भन्दा यस वर्ष सुन व्यापार निकै न्यून हुने गरेको छ ।
पहिले दैनिक ५०÷६० जना ग्राहक आउने गरेको भए पनि अहिले दैनिक १०÷१५ जना मात्रै आउने गरेको उनको भनाइ छ । विगतका वर्षमा तीजको समयमा सुनको अभाव हुने गरेको भए पनि यस वर्ष भने नबिकेर बजारमा प्रशस्त सुन रहेको उनले बताए । उनका अनुसार पहिले दैनिक २५÷३० तोला सम्म कारोवार हुने गरेको भए पनि अहिले भने दैनिक चार÷पाँच तोला मात्रै धौधौ कारोवार हुने गरेको छ ।
मूल्य बढेका कारण खरिद गर्नेभन्दा पनि साटफेर गर्ने, बेच्ने तथा मूल्य सोध्ने धेरै आउने गरेको भन्दै निजी बैंकमा राखिएका सुन खरिद गर्ने व्यापारी नहुँदा अहिले बैंक नै घाटामा जाने अवस्था आएको संघका प्रदेश कोषाध्यक्ष स्वर्णकारले बताए । कोरोना त्रास बढिरहेमा किन्ने भन्दा बेच्नेको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ ।
कारोबार ठप्प हुँदा घर भाडामा लिएर व्यवसाय गर्नेलाई भाडा तिर्नसमेत समस्या हुने गरेको छ । प
हिलेको सुन मौज्दात राखेकालाई भने मूल्यवृद्धिले त्यस्तो प्रभाव नपार्ने उनको भनाइ छ । सुनचाँदीको व्यवसायमा धेरै लगानी हुने गरेकाले अहिलेको अवस्थामा व्यवसायी विस्थापित हुने खतरा बढेको सुनचाँदी व्यवसायी कुलदीप कौशलले बताए ।
अहिले सुन खरिदका लागि काठमाडौँ नै जानुपर्ने अवस्था रहेकाले अब स्थानीय बैंकबाटै नै सुन खरिद गर्ने वातावरण मिलाएमा व्यवसायीलाई सहज हुने समेत उनको भनाइ छ ।