
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणले गर्व गर्न लायक सफलता हासिल गरेसँगै चुनौती थपिएको बताएका छन् । प्राधिकरणको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले संस्थालाई अझै सबल र प्रतिस्पर्धी बनाइने प्रतिबद्धता जनाएका छन् ।
‘उपभोक्तालाई भरपर्दो विद्युत् आपूर्ति र विद्युतीकरण गर्न बाँकी करिब १० प्रतिशत घरपरिपरिवारमा विद्युत् सेवा पु¥याउन, विद्युत्मा आत्मानिर्भर बन्न र आगामी दिनमा बढी हुने विद्युत्लाई मुलुकभित्र खपत गर्नु र बाह्य बजारमा बिक्री गर्नु चुनौतीपूर्ण छ’,उनले भने, ‘हामीले बनाउनुपर्ने प्रसारण पूर्वाधार समयमा बनाउन नसक्दा कतिपय आयोजनाहरूको विद्युत्प्रणालीमा जोड्न नसकिएको गुनासो सुनिरहेका छौँ, यसको समाधानका लागि प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गरी राखिएका लक्ष्य पूरा गर्नुपर्छ ।’
पुनले निजी क्षेत्रका जलविद्युत् आयोजनासँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्ने र विद्युत् बिक्रीका लागि प्रतिस्पर्धी बजार खोज्दै लगानीको वातावरण बनाइने बताए । सरकारले ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजना मात्रै निर्माण गर्ने उल्लेख गर्दै मन्त्री पुनले मुलुक ऊर्जामा आत्मनिर्भरतर्फ अगाडि बढेको बताए । सरकारले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण र ६०० मेगावाटको दूधकोसी जलविद्युत् आयोजना अगाडि बढाइएको उनले उल्लेख गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले लोडसेडिङ अन्त्य गरी कमाएको छविको निरन्तरताका लागि प्राधिकरण संस्थागत विकास योजनाअनुसार सञ्चालन हुनुपर्ने, प्रणाली सुधार गरी स्वचालित बनाउने, खर्च कटौती गर्ने, ग्राहक सेवालाई सुधार गर्ने र अगामी दिनमा बढी हुने विद्युत्को व्यवस्थापन गर्न लाग्नुपर्ने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तरको इमान्दार प्रयासका बाबजुद पनि विविध कारणले गर्दा केही निर्माणाधीन आयोजना समयमा सम्पन्न हुन नसकेकोे बताए । उनले यसले गर्दा संस्थाले गरेका कैयौँ राम्रा कामहरू ओझेलमा पर्ने सम्भावना पनि उल्लेख गरे । यसैले आगामी दिन प्राधिकरणका लागि लागि अझ चुनौतिपूर्ण रहेको उनले बताए ।
प्राधिकरणले यस वर्षलाई विद्युत् खपत वृद्धिको वर्षको रूपमा घोषणा गरी विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि स्वदेशमा विद्युत्को खपत वृद्धि गर्न सवारी साधन ‘चार्जिङ स्टेशन’को निर्माण गरी विद्युतीय सवारी साधनको प्रवद्र्घन गर्ने, लिङ्खट सिँचाइलाई बढावा दिने र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिने छ ।
वार्षिककोत्सवकमा सार्वजनिक वित्तीय विवरणअनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०७६÷७७ मा रु ११ अर्ब छ करोड नाफा कमाएको छ ।
प्राधिकरण अब सञ्चित नाफामा पनि गएको छ । प्राधिकरणले गत आवमा रु चार अर्ब ८७ करोड सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७÷६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रूपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२÷७३ मा रु ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवमा निरन्तर घटाएर गत आवबाट मुनाफा कमाएको हो ।
आव २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण त्यसपछिका आवमा निरन्तर नाफामा छ । प्राधिकरणले आव २०७३÷७४ मा रु एक अर्ब ४७ करोड, आव २०७४÷७५ मा रु दुई अर्ब ८५ करोड, आव २०७५÷०७६ मा रु नौ अर्ब ८१ करोड मुनाफा कमाएको थियो । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।