
काठमाडौं– कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौ चरणको उद्धार उडान हुँदैछ ।
नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि उद्धार चार्टर्ड उडान गर्न लागेका हुन् ।
नेपाल एयरलाइन्सले यही भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले भदौ १४ सम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् । सरकारले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँ सहित देशका विभिन्न स्थानमा तीव्ररूपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ ।
विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछ ।
सरकारले अबको उद्धार उडानमा दैनिक ५०० जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ ।
तीमध्ये २०० जनालाई सरकारले आङ्खनै खर्चमा ल्याउने छ भने ३०० जना आफैले टिकट काटेर आउनेछन् । स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को विवरणअनुसार साउन ३० गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५१ हजार ४४१ रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाबाट तथा ङ्खलाई दुबईले दुबईबाट नेपालीको उद्धार उडान गरी स्वदेश फर्काउने तालिका छ ।