सप्तरी–कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ ।
जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र सप्तरीको मंगलबार बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताए ।
सप्तरी जिल्लाभरि गत साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा मंगलबार मध्य राति सकिन लागेका बेला बैठकले पुनः थप गर्ने निर्णय गरेको बैठकमा सहभागी नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए ।
प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा राजनीतिक दल, नागरिक समाजसहित बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिँदै अवधि थप गर्ने निर्णय गरेको हो ।
प्रजिअ आचार्यले जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय नाघेको र विभिन्न स्थानमा संक्रमित बढिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिनुपरेको बताए ।
प्रजिअ आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकासहित सप्तरी जिल्लाभरि अनावश्यक हिँडडुल र आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञाको निर्णय गरेको जनाइएको छ ।
अत्यावश्यक कामसमेत तोकिएबमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरी गर्न, गराउन निषेधाज्ञा जारी गरिएको बताउँदै प्रजिअ आचार्यले चाडपर्वसमेत घरपरिवारका बीच घरभित्रै मनाउन आग्रह गरे ।
हनुहमाननगर कंकालिनी नगरपालिकामा मंगलबार एकै परिवारका आठसहित ११ जना संक्रमित देखिएपछि जिल्लामा संक्रमित ६८३ पुगेको स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म सप्तरीमा ९७ महिला र ५८६ पुरुष गरी कुल ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ । बाँकी संक्रमितमध्ये ४८ महिला र ४१२ पुरुष गरी कुल ४६० जना निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले बताए ।