
दोलखा– त्रिदेशीय सडक सञ्जालअन्र्तगत तामाकोशी–लप्ची सडक करिडोर निर्माणका लागि चालु आर्थिक वर्षमा ५ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।
गत आर्थिक वर्षदेखि अत्यन्त विवादित तामाकोशी करिडोरको सडकका लागि चालु आर्थिक वर्षमा ट्र्याक खोल्ने कार्यका लागि संघीय सरकारमार्फत सो रकम विनियोजन गरिएको हो ।
खर्च गर्ने अख्तियारी प्राप्त भएपछि मन्त्रालय तथा राष्ट्रिय योजना आयोगको सहमति लिएर बहुवर्षीय ठेक्काका लागि मंसिरमा टेन्डर आह्वान गर्ने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख विजयकुमार महतोले बताएका छन् ।
भिट्टामोड–जलेश्वर–बर्दिबास–खुर्कोट–मन्थली–तामाकोशी–सिंग–लामावगर–लप्ची सडक (एनएच–२८) अन्तर्गत तामाकोशी–सिंगटी–लामावगर–लप्ची खण्डको ट्र्याक खोल्न चालु आर्थिक वर्षबाट सुरु हुने प्रमुख महतोले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेको हो । तामाकोशी करिडोरअन्र्तगत बैत्यश्वर गाउँपालिका–७, नाम्दुदेखि बिगुगाउँपालिका–१, लामाबगरको लप्चीसम्म डबल लेनको सडक बनाउने योजना रहेको उनले बताए ।
तामाकोशी नदीको किनारै किनार ट्र्याक खोलिने सो सडक तामाकोशीदेखि बन्चरेसम्म तथा लामाबगरदेखि लप्चीसम्म गरी करिब २२ किलोमिटर दूरीको हुने सडक डिभिजन प्रमुख महतोको भनाइ छ ।
एनएच–२८ सडक पूरा भएपछि यो सडकले चीन, नेपाल र भारत गरी त्रिदेशीय सडकलाई जोड्ने हुनाले वैदेशिक व्यापारका लागि ठूलो महत्व राख्ने वागमती प्रदेश दोलखा क्षेत्र नं. १ का सदस्य विशाल खड्काले बताए ।
कष्टसाथ जीवन गुजारा गरिरहेका लप्चीबासीहरूलाई यो सडक निर्माणपछि आवतजावतमा ठूलो सहज हुने सांसद खड्काको भनाइ छ ।
गत ३० मंसि ०७६ मा भीमेश्वर नगरपालिका, कालिञ्चोक र बिगु गाउँपालिकाद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गरी तामाकोशी करिडोर साविकको सहमतिअनुसार नै खोल्नु पर्ने र तत्काल सर्भे कार्य रोक्न माग गरेका थिए ।
लामाबगरदेखि जनकपुरको भिट्टामोडसम्मको उत्तर दक्षिण राजमार्ग निर्माणका लागि ०५४ सालको जिल्ला परिषद्ले सबैभन्दा छोटो र कम लागतमा निर्माण हुने ठहर गर्दै सो सडक भीमेश्वर नगरपालिका–५ किराँतीछापभन्दा केही तल तामाकोशी नदीभन्दा केही माथि जफती गोलाइबाट सिधा कालिञ्चोक गाउँपालिकाको झमार्सी जोड्ने गरी २३ वर्षअघिको निर्णय नै कार्यान्वयन गर्न ती स्थानीय तहले पत्रकार सम्मेलन गरी विरोध जनाएका थिए ।